आगामी बजेटका लागि सुर्खेतमा राजस्व नीतिसम्बन्धी प्रादेशिक अन्तरक्रिया सम्पन्न

नेपाल सरकार, अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाको आयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा आगामी आर्थिक वर्ष २०८३/८४ को कर नीति सम्बन्धमा सुझाव संकलन एवं प्रादेशिक अन्तरक्रिया कार्यक्रम शनिबार सुर्खेतमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अर्थ मन्त्रालयका अर्थ सचिव श्री घनश्याम उपाध्यायले आम व्यवसायीका समस्या र चुनौतीहरूको वास्तविक अवस्था बुझ्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले स्थानीय स्तरबाट प्राप्त सल्लाह र सुझावहरूलाई आत्मसात् गर्दै सरकारले कर नीतिमा थप सुधार गर्ने योजना बनाएको जानकारी दिनुभयो।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा उपस्थित सुर्खेतका प्रमुख जिल्ला अधिकारी श्री जगदिश्वर उपाध्यायले कर्णाली प्रदेश र सुर्खेत जिल्लाको वार्षिक कर संकलनको अवस्थाप्रति चासो र चिन्ता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले व्यवसायीका विद्यमान समस्याहरूका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्री दिपेन्द्र ढकालले भौगोलिक रूपमा ठूलो भए पनि कर्णाली प्रदेश हरेक दृष्टिकोणले अभाव र पिछडिएको क्षेत्र रहेको कुरामा जोड दिनुभयो। उहाँले कर्णालीमा अन्य प्रदेशको तुलनामा करको दर अत्यधिक रहेको, विशेष गरी मालपोत कार्यालयमा जग्गा अंशबण्डा, संशोधन र रोक्का–फुकुवा जस्ता कार्यमा कर वृद्धि हुँदा मर्का परेको गुनासो गर्नुभयो। साथै, उहाँले सरकारले ‘एकद्वार प्रणाली’ मार्फत कर संकलन गर्नुपर्ने र उद्योग व्यवसाय दर्ता तथा नवीकरणको झन्झटिलो प्रक्रियालाई सरल बनाउन माग गर्नुभयो।

अन्तरक्रियामा सुनचाँदी व्यवसायीहरूले लाभकरका विषयमा आफ्ना धारणा राखेका थिए भने निर्माण व्यवसायीहरूले राज्यको साँघुरो नीतिका कारण आफूहरू समस्यामा परेको बताएका थिए।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिवद्वय श्री उत्तम कुमार खत्री र श्री धनिराम शर्मा, उपसचिव श्री अर्जुन ढकाल, सशस्त्र प्रहरी उपरीक्षक श्री लक्ष्मण बहादुर थापा, प्रहरी नायव उपरीक्षक श्री मोहन बुढजंग थापा लगायत सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत समितिका अध्यक्षहरू र मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो।

Author

Surkhet Chamber

Leave a comment

Your email address will not be published. Required fields are marked *