राष्ट्रिय आर्थिक गणना २०८२: सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्ला आर्थिक गणना कार्यालय, सुर्खेतको आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सम्बन्गी सरोकारवालाहरूसँगको अन्तरक्रिया तथा गोष्ठी आज मिति २०८२ चैत्र २५ गते वीरेन्द्रनगरमा भव्यताका साथ सम्पन्न भएको छ।
मुख्य जानकारीहरू:

दोस्रो ऐतिहासिक गणना: नेपालमा पहिलोपटक २०७५ सालमा आर्थिक गणना भएको थियो भने यो त्यसपछिको दोस्रो राष्ट्रिय आर्थिक गणना हो।

गणना अवधि: यो राष्ट्रव्यापी कार्यक्रम आगामी २०८३ वैशाख २ गतेदेखि २०८३ असार ७ गतेसम्म सञ्चालन हुनेछ।

महत्व: यस गणनाबाट सबै प्रकारका प्रतिष्ठान र व्यवसायको आधारभूत आर्थिक तथ्याङ्क संकलन हुनेछ, जसले देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा विभिन्न क्षेत्रको योगदान र लगानीको सही चित्र प्रस्तुत गर्नेछ।
कार्यक्रमका मुख्य अंशहरू:

कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरूले आर्थिक गणनाको सफलताका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काज्यूले समग्र जिल्लाको आर्थिक गणनाले निजी क्षेत्रको वास्तविक आवश्यकता पहिचान गर्न र सोही अनुरूप राज्यका नीति नियमहरू निर्माण गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले यस ऐतिहासिक कार्यमा निजी क्षेत्रले पूर्ण समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागिता:
कार्यक्रममा स्थानीय निकायका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रतिनिधि, तथ्याङ्क कार्यालय सुर्खेतका प्रमुख, सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू, वस्तुगत समितिका अध्यक्षहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, गणकहरू तथा पत्रकारज्यूहरूको सक्रिय सहभागिता रहेको थियो।
