नाच्दै, गाउँदै सरसफाई
पढ्छौं लेख्छौं, हाँसेर रमाउँछौं, मौका परे कुचो नि समाउँछौं, शिक्षक प्रकाश शाहीले जसै यो गीत गाउन शुरु गरे, लखतरान परेर पसिनाले निथु्रक्क भिजेका विद्यार्थीहरुमा नयाँ जोश र उर्जा सञ्चार भयो अनि गीतको तालमा ताली बजाउँदै रमाउन थालिहाले ।
विद्यार्थीहरुमा देखिएको यो उत्साहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला र प्राचार्य याम श्रेष्ठको मनपनि थामिएन । उनीहरुपनि विद्यार्थीको उत्साह र हौंसला झन बढाउन कम्मर मर्काउँदै, हात फन्नाउँदै नाच्न थालिहाले ।मंगलगढी चौक हुँदै ओहोर दोहोर हुने बटुवालाई लाग्यो, कुनै सांस्कृतिक कार्यक्रम चलिरहेको छ ।
जेठ महिनाको पहिलो शनिबार । विहानीको समय भएपनि नखरमाउलो बनिसकेको घामले उखरमाउलो गर्मी छरिसकेको थियो । तर घामको रापले विद्यार्थीहरुको जाँगर पगाल्न भने सकेन । नाला नालामा पसेर फोहोर उठाउँदै, बजारभरीको फोहोर बढार्दै गर्दा असिन पसिन भएका विद्यार्थीहरुले थकाई भने फिटिक्कै मानेनन, अनवरत रुपमा आप्mनो जिम्मेवारी पूरा गरे ।
सधंैजसो कापी किताबले भरिएका झोला बोकेर पढाईको ध्याउन्नमै रहने जन उच्च माविका विद्यार्थीहरु हातमा कुच्चो, बेल्चा र दाँती लिएर सडकमा उत्रिए धमाधम सरसफाईमा जुटेपछि जेठ महिनाको पहिलो शनिबार बन्द रहेका पसल अनि सुनसान बनेको बजार सरसुग्घर भएर चिटिक्क मात्र भएन गीतसंगीत र विद्यार्थीहरुको उत्साहले गुञ्जायमानपनि बन्यो ।
यो सबैंको चाँजोपाँजो मिलाएको थियो, सुर्खेत उद्योग वाणिज्य संघले । वीरेन्द्रनगर हाम्रो स्वच्छ सफा राम्रो भन्ने नाराका साथ ८ महिनादेखि निरन्तर हरेक शनिबार बजार सरसफाई गर्ने अभियान शुरु गरेको सुर्खेत उद्योग वाणिज्य संघको अभियान अन्तर्गत जेठ महिनाको पहिलो शनिबार सरसफाई नेतृत्व जिल्लाकै पुरानो जन उच्च माविले गरेको हो ।
कक्षा १० मा पढ्ने करिव २ सय ५० विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक कर्मचारी , सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा शनिबारको सरसफाई गरिएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव गोपालकृष्ण गिरीले जानकारी दिए ।
पिपलचौतारा नजिकै रहेको राम मन्दिरको मुख्य गेट अगाडिबाट शुरु भएको सरसफाई अभियान वीरेन्द्रचौक, नेताचौक, बीच बजार हुँदै मंगलगढी चौकमा पुगेर समापन भएको हो ।
पिपलचौतारदेखि वीरेन्द्रचौकसम्मका नालामा लामो समयदेखि जम्मा भएको फोहोरको डंगुर निकाल्नुका साथै बजार क्षेत्र आसपासमा थुप्रिएका फोहोरपनि विद्यार्थीहरुले पूर्णरुपमा सरसफाई गरेका छन ।
सुर्खेत उद्योग वाणिज्य संघको संयोजन तथा नेतृत्वमा गत असोज ९ गतेदेखि शुरु भएको सरसफाई अभियान अन्तर्गत जेठ महिनाको पहिलो शनिबारको सरसफाईको आयोजना गर्ने पहिलो सामुदायिक विद्यालयका रुपमा जन उच्च माविले गरेको हो ।
विद्यार्थीहरुलाई किताब ज्ञानका साथै सामाजिक कार्यमा प्रेरित गर्नका लागि सरसफाईको नेतृत्व हामीले लिएका हौं । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले भने, विद्यार्थीहरु परिवर्तनका सम्वाहक हुन भन्ने कुरा आजको अभियानले पुष्टि गरेको छ ।
हरेक शनिबार हुने सरसफाई अभियानमा नियमित रुपमा सहभागी हुँदै आएका वडा नं. ६ का नागरिक मञ्चका संयोजक माधव भट्राईपनि जन उच्च माविका विद्यार्थीको कामबाट निकै सन्तुष्ट र प्रशन्न देखिए ।
विद्यार्थीहरु साँच्चै जाँगरिला र फुर्तिला रैछन। उनले भने, अन्य विद्यालयलाई पनि समेट्न सकिए सरसफाई अभियान थप प्रभावकारी हुन्छ ।
For more information please visit: http://surkhetchamber.org.np/
© Copyright 2016. All Rights Reserved. Surkhet Chamber of Commerce and Industry